उद्योगीले राजनीति गरे, प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ : कुलमान घिसिङ

यतिबेला देशका उद्योगीहरू नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेर लोडसेडिङ सुरु गरेको आरोप लगाउन थालेका छन् । प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिने आस देखाएको र कोभिड महामारीबाट तङ्ग्रिँदै गरेका उद्योगलाई १४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीको आरोप छ ।

तर, प्राधिकरण भने अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेर भारतमा बिजुली महँगो हुँदा केही दिन आयातमा समस्या भएको जनाउँछ । मुस्किलले एक साता बिजुली आपूर्तिमा समस्या हुँदा उद्योगीले राजनीति गरेको प्राधिकरणले बताउन थालेको छ । उद्योगमा बत्ती काटिएको र उद्योगीहरूले प्राधिकरणविरुद्ध लगाएको आरोप सम्बन्धमा रातोपाटीका निकेश खत्रीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानीको अंशः–

उद्योगीहरू प्राधिकरणले लोडसेडिङ सुरु गर्‍यो भनिरहेका छन् । अहिले भएको चाहिँ के हो ?

सुख्खायाममा नेपालको मागअनुसारको बिजुली उत्पादन हुँदैन । सुख्खायाममा नदीको प्रवाह घट्दा चाहिए जति बिजुली उत्पादन हुँदैन । त्यसैले सुख्खायामको माग धान्न भारतबाट मागअनुसार २०० देखि ४०० मेगावाटसम्म (सरदर ३०० मेगावाट) बिजुली आयात हुन्छ । नेपालको उत्पादनले असारदेखि मंसिरसम्मको सम्पूर्ण माग धान्छ । पुसदेखि वैशाखसम्म र जेठमा थोरै बिजुली आयात गर्नुपर्ने स्थिति छ ।

सोहीअनुरूप पुसदेखि सरदरमा ३०० मेगावाट बिजुली भारतबाट आयात भइरहेको थियो । भारतबाट औसतमा प्रतियुनिट ४.५० भारुमा बिजुली आयात भइरहेको छ । तर, विश्वव्यापी रूपमा फैलिएको महामारीसँगै विश्वभर कोइलाको मूल्य बढ्न थाल्यो । यसैमा रुस–युक्रेन युद्धको प्रभाव पनि थपियो । परिणामस्वरूप भारतमा आयातित कोइलाबाट सञ्चालन भइरहेका पावर प्लान्टमा समस्या पर्न थाल्यो ।

अन्तर्राष्ट्रिय बजारमा महँगो पर्ने कोइलाको आयात मुस्किल भएपछि धेरै पावर प्लान्टले उत्पादन नै बन्द गरे । केही पावर प्लान्टले उत्पादन कटौती गरे । जसको प्रभाव सम्पूर्ण भारतीय बजारमा पर्‍यो र अघिल्लो साता नेपालले बिजुली किन्न सकेन र उद्योगहरूमा दुई दिन रातीको समयमा बिजुली काटियो । बाँकी दुई दिन आधा भोल्टेजमा बिजुली दिइयो । त्यसपछि अहिले समस्या समाधान भइसकेको छ । गत साताको शुक्रबारदेखि नेपालले चाहे जति बिजुली किन्न पाउन थालेको छ । यससँगै उद्योगलाई नियमित बिजुली दिन थालिएको छ । अहिले लोडसेडिङ छैन, उद्योगीहरू अनावश्यक कूप्रचारमा लागेका मात्रै हुन् ।

भारतमा बिजुली किन्ने प्रक्रिया कस्तो छ ? हामीले चाहे जति बिजुली किन्न किन पाइएन ?

नेपालले भारतबाट चार वटा विकल्पमा बिजुली किन्दै आएका छौँ । भारतको सरकारी कम्पनी पावर ट्रेडिङ कर्पोरेशन (पीटीसी), नेश्नल थर्मल पावर कर्पोरेशन (एनटीपीसी), भारतीय राज्य सरकार विहार र भारतीय बिजुलीको एक्सचेञ्ज बजारबाट बिजुली किनिरहेका छौँ । सोहीअनुसार पुसदेखिको नेपालको माग धानिरहेको हो । तर, रुस–युक्रेन युद्ध सुरु भएसँगै भारतमा बिजुलीको उत्पादन प्रभावित बन्यो । आयातित कोइलाबाट चल्ने पावर प्लान्ट बन्द भए र स्वदेशमै उत्पादन हुने कोइलाबाट चल्ने पावर प्लान्टबाट उत्पादित बिजुली नेपाल र बंगलादेशलाई बेच्न नपाउने भारत सरकारको प्रावधान छ ।

स्वदेशमा उत्खनन हुने कोइलाबाट उत्पादित बिजुली सस्तो पर्ने भएकाले स्वदेशी बजारमै खपत गर्नुपर्ने भारत सरकारले प्रावधान बनाएको हो । विद्युत् प्राधिकरणले जुनसम्मलाई एनटीपीसी अन्तर्गतको सहायक कम्पनी एनबीबीएनमार्फत ३५० मेगावाटसम्म बिजुली प्रतियुनिट ४.१६ भारुमा किन्ने सम्झौता गरेको छ । यस्तै, जुनसम्मलाई टीपीसीसँग ६५ मेगावाट बिजुली किन्ने सम्झौता पनि छ । ३५० मेगावाटसम्म बिजुली चाहिएमा एनबीबीएनमार्फत र त्योभन्दा बढी बिजुली चाहिएमा टीपीसीबाट बिजुली आयात गर्दै आएका थियौँ ।

यस्तै, यी दुई वटा कम्पनीबाहेक विहार सरकारबाट प्रतियुनिट ६.५० भारुमा बिजुली किन्ने सम्झौता पनि हामीले गरेका छौँ । तर, १०/१५ दिन अघि दुई वटै कम्पनीले कोइला आयात रोकिएकोभन्दै नेपाललाई सम्झौता मूल्यअनुसार बिजुली दिन नसक्ने बताए । त्यसपछि हामीले विहार राज्य र भारतीय एक्सचेञ्ज बजारबाट बिजुली लिन थाल्यौँ । एक्सचेञ्ज बजारमा महँगो मूल्य परेमा विहारबाट र विहारभन्दा सस्तो परे एक्सचेञ्ज बजारबाटै बिजुली लिँदै आएका थियौँ । तर, कोइला आयात प्रभावित बन्दा विहारको बिजुली उत्पादन पनि समस्यामा पर्‍यो ।

जसले गर्दा उनीहरूले पनि बिजुली दिन नसक्ने जानकारी प्राधिकरणलाई गराए । लगत्तै एक्सचेञ्ज बजारमा बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँभन्दा माथि पुग्यो । नेपालले भारतीय एक्सचेञ्ज बजारमा बिजुली किन्न बिड गर्दा गर्दा प्राधिकरणले गरेको बिडभन्दा महँगो परेकाले त्यो दिन (गत साता) बिजुली ल्याउन सकेनौँ । त्यसको भोलिपल्ट हामीले प्रतियुनिट ११ भारु बिड गरेका थियौँ । तर, एक्सचेञ्ज बजारमा १२ भारु पुगेपछि त्यो दिनपनि बिजुली ल्याउन पाइएन । जसले गर्दा उद्योगहरूमा रातीको समयमा दुई दिन सम्म १२–१२ घण्टा बिजुली दिन सकिएन । बाँकी दुई दिन आधा भोल्टेजमा बिजुली दिइएको थियो ।

भारतको एक्सचेञ्ज मार्केटमा २४ घण्टाको ९६ वटा १५/१५ मिनेटको ब्लक हुन्छ । १५/१५ मिनेटको ९६ वटा डिमान्ड बिट गरेपछि मात्रै दिनभरलाई पुग्ने बिजुली आयात गर्न सकिन्छ । ९६ वटै मूल्यमा बिड गर्नुपर्छ । भारतको बजारमा बिजुलीको बिड गर्दा यहीँबाट अनलाइनमार्फत बिड गर्ने हो । र, इलोक्ट्रनिकरूपमै बिड फाइनल हुने हो । त्यो ब्लकमा बिजुली नपाएपछि हामीलाई समस्या परेको थियो । अहिले भारतमा ४.५० भारु प्रतियुनिटमा बिजुली पाउन थालिसकेको छ । समस्या छैन ।

तर, विराटनगरका उद्योगीहरूले अहिले पनि बिजुली पाएका छैनौँ भन्छन् नि ?

हैन । अहिले देशको कुनै पनि स्थानमा लोडसेडिङ छैन । उद्योगहरूलाई चाहिए जति बिजुली २४ सै घण्टा दिइएको छ । विराटनगरको एउटा औद्योगिक फिडर सटडाउन हुँदा हिजो बिजुली गएको रहेछ । त्यो प्राविधिक समस्या थियो । जसलाई उद्योगीहरूले अहिले पनि लोडसेडिङ जारी छ भने कू–प्रचार गरिरहेका छन् । भारतमा मूल्य बढ्दा प्राधिकरणले राखेको मूल्यमा बिजुली नपाएपछि जम्मा दुई रात बिजुली काटिएको थियो । त्यो पनि सर्वसाधारणको बिजुली काट्नुको साटो उद्योगीको काटेको हो ।

कोभिड महामारीबाट अर्थतन्त्र लयमा फर्कँदै गर्दा चीनमा ऊर्जाको चरम संकट आएको थियो । नोभेम्बर र डिसेम्बरमा चीनमा बिजुली नहुँदा ८० प्रतिशत उद्योग एक महिनासम्म बन्द भए । चीनले पनि सर्वसाधारणको बिजुली काटेर उद्योग सञ्चालनमा दिएको थिएन । अहिले भारतमा पनि बिजुलीको समस्या छ । महँगो मूल्यमा बिजुली किनेर उद्योग चलाउनुभन्दा उद्योग बन्द गर्छौँ भनेर उद्योगीहरू स्वयम्ले उत्पादन बन्द गरेका छन् । त्यसैले अहिलेको समस्या विश्वव्यापी ऊर्जा संकटकोरूपमा आएको समस्या हो । तर, यो समस्यालाई विराटनगरका उद्योगीले राजनीतिक शैलीमा प्रचार गरे ।

उद्योगीहरू प्राधिकरणले खबरै नगरी बिजुली काट्यो भन्छन् । यसबारे जानकारी दिनु भएको थिएन ?

प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका विशिष्ट सदस्य पशुपति मुरारका लगायतका उद्योगी/व्यवसायीलाई बोलाएर तत्कालीन परिस्थितिका बारेमा जानकारी दिइएको थियो । यो समस्या समाधान हुँदै जान्छ । केही दिनसम्म यस्तो समस्या रहे पनि दीर्घकालीन समस्या हैन भनेर उनीहरूलाई जानकारी गराएका थियौँ । महँगोमा मूल्यमा बिजुली किनेर सस्तोमै दिइरहेकै थियौँ । तर, उद्योगीहरूले प्राधिकरणको समस्यालाई पनि लोडसेडिङ भनेर अहिलेसम्म प्रचार गरिरहेका छन् ।

उद्योगीले केही दिनलाई मात्र आएको अल्पकालीन समस्यालाई लिएर अहिलेसम्म राजनीति गरेका छन् । जबकि, यो समस्या गत साताको शुक्रबार शनिबार (चैत १८ र १९ गते) नै समाधान भइसकेको छ । अहिले हामीले प्रतियुनिट ५.५० भारुमा बिजुली किन्न थालिसकेका छौँ । भारतको बिजुली बजार पनि पुरानै लयमा आइसकेको छ । सबै विषय सामान्यतर्फ गइरहँदा पनि उद्योगीहरू लोडसेडिङ भनेर प्राधिकरणविरुद्ध राजनीति गरिरहेका छन् । उद्योगीले तत्काल राजनीति बन्द गर्नुपर्‍यो । राजनीति गर्ने भए राजनीतिमै आउनुपर्‍यो । राजनीतिक हिसाबले नै अघि बढ्ने भए प्राधिकरण पनि एक्सनमा उत्रिन्छ ।

यो समस्यामा वास्तविक उद्योगी जसले २०/३० मेगावाट बिजुली प्रयोग गर्दै आएका छन्, उनीहरूले केही बोलेका छैनन् । जुन उद्योगीले एक मेगावाटको पनि लोड प्रयोग गरेको छैन । उनीहरूले प्राधिकरणविरुद्ध राजनीति गरे । उद्योगीहरूले राजनीति गर्नु भएन । प्राधिकरण चाहिँ उद्योगको प्राङ्गणमा गएर चाहिए जति बिजुली लिनुहोस् हामी दिन्छौँ भन्ने । अनि उद्योगी चाहिँ प्राधिकरणले लोडसेडिङ गर्‍यो भनेर दुई दिनलाई आएको समस्यालाई प्रचार गर्दै हिँड्ने ? उद्योगीहरूले यही शैलीमा राजनीति गरिरहेमा प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ । यति बेला उद्योगी नेता बनेर राजनीति गरिरहेका छन् ।

भोल्टेज सन्तुलन मिलाउने क्यापासिटर बैंक पनि नराख्ने उद्योगका सञ्चालक भोल्टेज पुगेन भनिरहेका छन् । एउटा उद्योगले क्यापासिटर बैंक नराख्दा त्यस क्षेत्रको पुरै बिजुलीको भोल्टेज डाउन हुन्छ । त्यस्ता उद्योग खोजी–खोजी लाइन काट्नुपर्ने हो ? भोल्टेज पुर्‍याउन ? ट्रङ्क लाइन र डेडिकेटेड लाइनको बिल नतिर्ने उद्योगीको लाइन काट्न प्राधिकरण एक्सनमा उत्रनुपर्ने हो ? होइन भने उद्योगीले राजनीति गर्नु भएन ।

तपाईले सुरुमा नेपालको उत्पादनले माग धान्दैन भन्नुभयो । नेपालको उत्पादन कति छ ?

राष्ट्रिय प्रसारण लाइनमा जडित विद्युत् क्षमता २१ सय मेगावाट हो । जुन सुख्खा याममा घटेर १४ सय मेगावाटमा आउँछ । हाल नेपालको पिक माग १७ सय मेगावाट हो । यो माग धान्नलाई भारतबाट ३०० मेगावाट बिजुली ल्याउनुपर्छ । यो वर्ष मात्रै नेपालमा ४०० मेगावाट बिजुलीको माग बढ्यो । जसले गर्दा थप समस्या भएको हो । सुख्खायाम अर्थात् पुसदेखि वैशाखसम्म हामीले आयात गर्नुपर्छ । जेठमा थोरै–थारै आयात गर्नुपरे पनि ठुलो परिमाणमा आयात गर्नुपर्दैन । पाँच महिना भारतबाट आयात गर्नुपर्छ । यी पाँच महिनामध्ये चैत र वैशाखमा सबैभन्दा धेरै बिजुली ल्याउनुपर्छ ।

अहिले बिजुलीको माग एकदमै बढेको छ । चार/पाँच वर्ष अघि म प्राधिकरणमा आउँदा वार्षिक ३ अर्ब ५० करोड युनिट बिजुली खपत हुन्थ्यो । अहिले करिब साढे दुई गुणाले बढेर ८ अर्ब ५० करोड युनिट पुगेको छ । त्यो समयमा करिब १२–१३ सय मेगावाट माग थियो । अहिले बढेर १७०० सम्म पुगेको छ । पछिल्लो ४/५ वर्षको अवधिमा ४०० मेगावाट त माग नै बढेको छ ।

मैले पहिलो पटक विद्युत् प्राधिकरणको जिम्मेवारी सम्हाल्दा कुल ८ सय ५६ मेगावाट उत्पादन (बर्खायाममा) थियो । उक्त समयमा आयात पनि करिब ३०० मेगावाट आसपास थियो । अहिले पनि उत्पादन बढेर २१ सय मेगावाट पुगेको छ र हाम्रो सरदर आयात ३०० मेगावाट नै छ । यसको अर्थ बिजुलीको उत्पादनसँगै माग पनि बढेको छ । मैले दोस्रो कार्यकाल सुरु गरे लगत्तै माग कसरी बढाउने भनेर योजना बुन्न थालेको थिए । सोहीअनुसार माग बढेको त हामीलाई फाइदा नै हो । म आउनुअघि डेडिकेटेड उद्योगीहरूलाई थप लोड स्वीकृत नगर्ने निर्णय प्राधिकरणको बोर्ड बैठकले नै गरेको थियो ।

हामीले त्यो निर्णयलाई फेरेर तत्काल उद्योगहरूलाई ६०० मेगावाटसम्मको विद्युत् लोड स्वीकृत गर्‍यौँ । उद्योग–उद्योगमा पुगेर बिजुलीको माग बढाउन लागिपरेका छौँ । माग धेरै बढेको छ । बढेको मागमा अलिकति आयात बढ्दा के फरक पर्छ ? आयात गरेर देशलाई घाटा हैन । नाफा हुन्छ । त्यसैले आयात गर्न हामी डराएका छैनौँ । अहिले प्राधिकरणको चाहना अनुसार नै बिजुलीको माग बढेको छ । सुख्खा याममा भारतबाट २/३ सय मेगावाट बिजुली आयात गर्नुभन्दा ठुलो चिन्ता बर्खायाममा खेर जाने ५०० मेगावाट बिजुली हो । त्यो बिजुली कसरी उपयोग गर्ने भन्ने चिन्ता मुख्य हो हाम्रो ।

भारतमा बिजुली महगिँदा नेपालमा पनि समस्या पर्‍यो । नेपालको बिजुली सस्तो वा भारतको ?

नेपालका उत्पादकहरूसँग प्राधिकरणले सुख्खा याममा न्यूनतम ८.४० रुपैयाँ मूल्य पर्छ । यस्तै, कुनै आयोजनाबाट १० रुपैयाँ प्रतियुनिटभन्दा पनि महँगो मूल्यमा बिजुली किन्नुपर्छ । भोटेकोसीबाट प्रतियुनिट १२/१३ रुपैयाँमा किन्नुपर्छ । साढे ८ रुपैयाँमा नेपाली उत्पादकहरूसँग बिजुली किन्नुभन्दा सरदर ४.५० भारुमा बिजुली किन्न सकिन्छ । यो पुसदेखि अहिलेसम्मको सरदर मूल्य हो । अब नेपालको बिजुली सस्तो पर्‍यो वा भारतको यही तथ्यबाट देखिन्छ ।

सुख्खा याममा नेपालको माग धान्न भारतबाट कति बिजुली आयात गर्नपर्‍यो ?

हालसालै एकजना नेताले भाषण गर्नेक्रममा यो वर्ष प्राधिकरणले भातबाट १५ अर्ब रुपैयाँको बिजुली आयात गर्‍यो भन्नु भएको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को फागुन महिनासम्ममा भारतबाट ८ अर्ब रुपैयाँ बराबरको बिजुली भित्रिएको छ । यस अवधिमा १ अर्ब युनिट बिजुली ल्याइएको छ । जबकि, यो साउन–फागुन अवधिमा नेपालमा ७ अर्ब युनिट बिजुली खपत भइसकेको छ । यो वर्षमा भारतबाट ल्याएको बिजुलीको हिस्सा कुल खपतको १५ प्रतिशत हाराहारी हो ।

अबको एक महिना अर्थात् वैशाख महिनामा मात्रै बिजुली किन्ने हो । जेठदेखि धेरै बिजुली किन्न पर्दैन । यस आधारमा चालू आर्थिक वर्षको असार मसान्तसम्ममा बढीमा १० अर्ब रुपैयाँ बराबरको बिजुली आयात हुन सक्छ । त्योभन्दा बढी आयात हुँदैन । जबकि, गत आर्थिक वर्षमा नेपालले भारतबाट २४ अर्ब रुपैयाँको बिजुली आयात गरेको थियो ।