नेपाल बारको सबै पदमा सत्ता गठबन्धनको अग्रता

नेपाल बार एशोसिएसन कार्यसमितिको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीले अग्रता लिएका छन्।

बारको नेतृत्व छान्न भएको निर्वाचनको मतगणना मंगलबारदेखि भइरहेको छ। बुधबार दिउँसोसम्मको मत परिणाम अनुसार सबै पदमा सत्ता गठबन्धन निकटका उम्मेदवारले अग्रता दिइरहेका छन्।

अध्यक्षमा कांग्रेस निकट गोपालकृष्ण घिमिरले एक हजार ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले निकट विष्णुमणि अधिकारीले ५५३ मत पाएका छन्। महासचिवमा गठबन्धनकै उम्मेदवार माओवादी निकट अन्जिता खनालले ९ सय ६० मत पाउँदा एमाले निकट केदारप्रसाद कोइरालाले ६ सय ५७ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ।

अन्य पदाधिकारी र सदस्यमा पनि सत्ता गठबन्धनकै उम्मेदवारहरुको प्रष्ट अग्रता छ।

कानुन व्यवसायीहरुको छाता संगठन बारको नयाँ नेतृत्व चयनका लागि चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो। सबै स्थानको मतपेटिका सोमबार काठमाडौं ल्याइएपछि मंगलबारदेखि मतगणना सुरु भएको हो।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको हो। निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो।