अधिकृतलाई कार्यकक्षमै बोलाएर पड्काउने युवा तथा खेलकूदमन्त्री मनाङे भन्छन्- यो केटो हरामी रहेछ , यसले मन्त्रीलाई नै डुबाउने भएकोले बोलाएर संझाएको मात्र हुँ

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ दीपक मनाङे यतिबेला फेरी एकपटक चर्चामा आएका छन् । उनले कर्मचारीलाई हातपात गरेको आरोप लागेको बिषयले चर्चा चुलिएको छ । उनले मंगलबार अफिस छुट्टी हुने बेलामा अधिकृत प्रकाश ओझालाई पड्काएका थिए । यद्यपि, यसबारे कसैले पनि स्पष्ट रुपमा जानकारी भने दिन मानेका छैनन् ।

मन्त्रीको कार्यकक्षमा फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको र त्यसै क्रममा मनाङेले ओझालाई कुटपिट गरेको बताइएको छ । घटनापछि ओझा बुधबार कार्यालय नआउनुले पनि उनी माथि कुटपिट भएको कुरा लाई थप पुष्टि गर्छ । मन्त्रीले कर्मचारी पड्काएको बिषय सबैतिर सनसनिपुर्ण भए पछि यसबारे मनाङेले प्रतिक्रिया जनाएका छन् ।

उनले आफूले ओझालाई कुटपिट नगरी सम्झाएको मात्र भनेर दाबी गरेका छन् । मन्त्रालयका गोप्य सूचना बाहिर लिक नगर्नु भनेर राम्रोसँग सम्झाएको मात्रै भन्दै उनले सूचनाहरू लिक गरेको विषयमा छानबिन समिति बनाउने पनि बताए । स्वरोजगार कार्यक्रममा अधिकृत ओझाले चलखेल गर्दै आएको मन्त्री मनाङेको आरोप छ । मन्त्री मनाङेले अधिकृत ओझा एकदमै खतरा रहेको र उसले मन्त्रीहरूलाई डुवाउँने समेत दाबी गरे ।

त्यसैले हिजो आफुले कार्यकक्षमा बोलाएर संझाएको मात्र बताएका छन् । उनले भने, तेरो स्वरोजगारमा कृषिसम्बन्धी काम गर्ने मान्छेलाई केही कुरा भनेको रहेछस् भाइ आइन्दा यो कुरा थाहा पाए भने राम्रो हुँदैन भनेर राम्ररी सम्झाएर पठाएको हो ।’ मन्त्री मनाङेले कुटपिट गरेको आरोपको खण्डन गरेका छन् ।