लगातार तीन वटा सरकारले पत्याएकी एक मात्र ‘भाग्यमानी’ राजदूत पराजुली

ओमानको राजदूतमा पाँच वर्षे कार्यकाल पूरा गरेर छ महिनाअघि फर्केकी शर्मिला पराजुलीलाई सरकारले फेरि स्पेनको राजदूत सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पराजुलीलाई लगातार दोस्रोपटक राजदूत सिफारिस गरेको हो।

उनलाई २०७३ सालमा पहिलोपटक केपी शर्मा ओली सरकारले ओमानको राजदूत सिफारिस गरेको थियो। म्यानपावर व्यवसायीलाई राजदूत सिफारिस गरेको भन्दै विरोध भएपछि त्यतिबेला उनको सिफारिस फिर्ता गरियो।

त्यसपछि बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले पराजुलीलाई फेरि ओमानको राजदूत सिफारिस गर्‍यो। त्यसबखत संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राजदूतका रूपमा पराजुलीको ओमान यात्रा तय भयो।

यसबीच प्रतिनिधिसभा निर्वाचन भयो र ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो।

ओलीले आफू नेतृत्वमा आएपछि पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूत फिर्ता गरे पनि पराजुलीलाई भने निरन्तरता दिए। ओली अढाइ वर्ष सत्तामा रहँदा पराजुली राजदूत कायम रहिन्।

ओलीको प्रतिनिधिसभा विघटन निर्णयलाई सर्वोच्च अदालतको परमादेशले उल्ट्याइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो। देउवा सरकारले पनि पराजुलीलाई ओमानमा निरन्तरता दिइरह्यो।

यसरी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी उनी सन् २०२१ अक्टोबर ११ मा नेपाल फर्केकी थिइन्।

ओमानको कार्यकाल पूरा गरेर फर्केको छ महिनामै पराजुलीलाई देउवा र पुष्पकमल दाहालसमेतको संयुक्त सरकारले फेरि स्पेनको राजदूत सिफारिस गरेको हो।

लगातार दोस्रोपटक राजदूत सिफारिसमा परेपछि ढकाल निकै खुसी छिन्।

‘मेरो ओमान कार्यकाल सफल भएकाले मलाई सरकारले फेरि स्पेनको राजदूत सिफारिस गरेको छ,’ पराजुलीले बिहीबार सेतोपाटीसँग भनिन्, ‘मैले ओमान र नेपालको कूटनीतिक सम्बन्ध बढाउन धेरै राम्रा काम गरेकी थिएँ।’

अब स्पेनसँगको कूटनीतिक सम्बन्ध विस्तार र प्रगाढ बनाउन सरकारले नयाँ अवसर दिएको उनले बताइन्।

‘म नेपाल र स्पेनको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछु,’ उनले भनिन्, ‘देशको हितअनुसार काम गर्छु।’

ओली सरकारले पहिलोपटक ओमानको राजदूत सिफारिस गर्दा पराजुलीमाथि म्यानपावर व्यवसायी भएको आरोप लागेको थियो। सिफारिस हुनुअघि उनी फ्लोरिड रिसोर्स सोलुसन नामक म्यानपावर कम्पनीकी निर्देशक थिइन्।

राजदूत सिफारिस भएपछि उनले पत्रकार सम्मेलन गरेर आफू म्यानपावर कम्पनीमा संलग्न नरहेको बताएकी थिइन्।

त्यतिबेला पराजुलीको परिवारका सदस्यहरू वैदेशिक रोजगार व्यवसायमा संलग्न थिए। उनका श्रीमान् विमल ढकाल फ्लोरिडका सञ्चालक थिए। जेठाजू कमल ढकाल पनि त्यही म्यानपावरमा आबद्ध थिए।

खाडी मुलुकका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बिएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्ट समेतमा पराजुली संलग्न भएको आरोप लागेको थियो।

पराजुली दम्पती पहिले मलेसियामा नेपाली कामदार आपूर्ति गर्थे। त्यहाँ नेपालीलाई ठगी गरेको आरोप लागेपछि मलेसियास्थित नेपाली दूतावासले उनीहरूको म्यानपावरलाई मलेसियामा ‘निषेध’ गरेको थियो।

मलेसियामा कामदार पठाउन अवरोध भएपछि उनीहरूले युएई पठाउन थालेका थिए।

उनका श्रीमान् विमल ढकाल भने पराजुली ओमानको राजदूत नियुक्त हुनुअघि नै आफूहरूले म्यानपावर व्यवसाय छाडेको बताउँछन्।

‘म र मेरी श्रीमती प्रत्यक्ष रूपमा कहिल्यै म्यानपावर व्यवसायमा थिएनौं। हाम्रो परिवारका सदस्य म्यानपावर व्यवसायमा रहेकाले म र मेरी श्रीमतीलाई पनि त्यसमा जोडिँदै आएको हो,’ उनले भने, ‘हामी त्यसमा कहिल्यै संलग्न भएनौं, हामीलाई आरोप चाहिँ लागिरह्यो।’

सन् २०१४ सेप्टेम्बरमा ओमानमा नेपाली दूतावास खुलेको हो। पहिलो राजदूत पराजुली नै बनेकी हुन्।