बहराइनका तीन नेपालीमा कोरोना, इरानबाट आएका कामदारबाट सरेको जानकारी

काठमाडौं । बैदेशिक रोजगारका लागि बहराइन पुगेका तीन नेपाली कामदारलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखिएको छ ।शनिबार दुई जना र आइतबार एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ४० देखि ४६ बर्ष उमेरका छन् ।यसअघि युएईमा रहेका दुई नेपालीमा संक्रमण देखिएको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित तीनै जना नेपालीको उपचार भइरहेको बताए ।

‘बहराइन सरकारले प्रकाशन गर्ने हेल्थ बुलेटिनअनुसार तीन जनामा संक्रमण पुष्टि भएको छ’, उनले भने,‘अहिले उनीहरुको केस नम्बर मात्रै हामीसँग छ । पूरा विवरण मागिएको छ ।’सुन्दासका अनुसार तीन जना अलग अलग कम्पनीका कामदार हुन । इरानबाट आएका ६१ बर्षीय भारतीय कामदारबाट नेपालीमा संक्रमण सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । -कान्तिपुर दैनिकबाट