काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी

काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका छन्। कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएका छन् ।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायम राखेकी छन् ।
वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।