काठमाडौंमा ४८ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता झन् फराकिलो बनेको छ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ४८ हजार ८९ मत ल्याउदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २९ हजार १ सय ८० तथा एमालेका केशव स्थापितले २८ हजार ३ सय २६ मत पाउनुभएको छ । बालेन र र्सिजनाबीच अहिले १८ हजार ९ सय बढी मतको अन्तर छ । उता, ललितपुर महानगरको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले ३६ हजार ९ सय ३८ मत प्राप्त गर्दा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २१ हजार ७ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी उम्मेदवार रेणु दाहाल विजय हुने पक्का भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी रेणुले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीसँग १२ हजार बढी मतको अग्रता लिनुभएको छ । जबकी त्यहाँ अब १० हजार मत मात्रै गन्न बाँकी रहेकाे छ । रेणुले अहिलेसम्म ५१ हजार १ सय १२ मत पाउनुभएको छ भने सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ । साथै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २७ मत प्राप्त गर्नुभएको छ । साेही महानगरकाे उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको जित पनि निश्चित भईसकेको छ ।

पोखरा महानगरपालिकामा गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य ५४ हजार ३ सय ७८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापा ४९ हजार ६ सय १० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार राजेशमान सिंहले ४३ हजार १ सय ३२ मत प्राप्त गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले २२ हजार ८९ मत प्राप्त गर्नुभएको छ ।