प्रचण्ड र नेपाललाई कसले गर्‍यो प्रधानमन्त्रीको अफर ?

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ । तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै जनाले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताउँदै हिड्न थालेका छन् ।

प्रचण्डले बिहीबार एक अन्तर्वातामा आफूलाई प्रधानमन्त्री बन्न अफर आएको तर त्यो अफरमा आफू विश्वस्त नरहेको बताए। कसले अफर ग¥यो भन्ने विषयमा भने उनले केही बताएका छैनन् । यस्तै, एकीकृत समावादीका अध्यक्ष नेपालले पनि बिहीबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको बताए तर उनले पनि कसले अफर गरेको हो भन्ने’दयगत केही बताएनन् ।

राजनीतिक विश्लेषकका अनुसार अध्यक्ष प्रचण्ड र नेपाल दुवैले गठबन्धनको प्रमुख दल कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबमा राखी बार्गेनिङ पावर बढाउन आफूलाई प्रधामन्त्रीको अफर आएको कृत्रिम दाबी गरेका हुन सक्छन् । आउने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट भागबन्डामा कम सिट दिने संकेत देखाएपछि यतिखेर प्रचण्ड र नेपाल दुवै जना कांग्रेसलाई दबाबमा राखी आफ्नो पार्टीको भागमा पर्ने सिट संख्या वृद्धि गर्ने दाउमा रहेको बताइन्छ । त्यही दाउस्वरूप उनीहरूले प्रधानमन्त्रीको अफर आएको हल्ला आफै फैलाएको हुन सक्ने राजनीतिक विश्लेषकको दाबी छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।