भरतपुरलाई सफा र सुन्दर बनाउने संकल्प लिएका छौं : रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्राथमिकता रहेको बताएकी छन्। विश्व वातावरण दिवस-२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन्।

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्राथमिकता रहेको बताएकी छन्। विश्व वातावरण दिवस-२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन्।

अन्तर्राष्ट्रिय स्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरू अगाडि बढाई सकेको पनि प्रमुख दाहालले उल्लेख गरिन्। अगामी नगरसभामार्फत सरसफाइको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने पनि उनको भनाई छ। महानगरपालिकालाई सौन्दर्यकरण, हरियाली तथा सुन्दर र स्वच्छ शहर निर्माण गरी अन्य शहरले पनि अनुसरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा उनले जोड दिइन्।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाइमा अघि बढ्ने बताए। फोहरलाई व्यवस्थित गरी वातावरण संरक्षण गर्न सके मात्रै मानव जीवन अगाडि बढ्न सक्ने भएकाले यसको महत्त्वलाई सबै जनाले बुझ्न आवश्यक रहेको उल्लेख गरे।

वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका एक दर्जन बढी संघसंस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए। दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने राजमार्ग क्षेत्रको सरसफाइ, विद्यालयमा निबन्ध प्रतियोगिता, विद्यालयमा पार्क निर्माण, पार्कहरू गोडमेल, वृक्षारोपण तथा राप्ती तटीय क्षेत्रमा सरसफाइ तथा विभिन्न सरसफाइमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए।

त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दिगो विकासमैत्री र वातावरणमैत्री शहर निर्माण गर्ने भरतपुर नगरवासीको साझा संकल्प रहेको बताए। फोहरको व्यवस्थापन गर्न यसको वर्गीकरण, विसर्जनलयातका विषयमा महानगर र महानगरवासीको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। समापन समारोहमा भरतपुर महानगरपालिको सरसफाइ तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था, अभियन्ता तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।