ज्ञानेन्द्र शाहले पढेको ड्राफ्ट आफूले तयार पारेको ओलीको दाबी

काठमाडौं, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिले राम त कहिले अयोध्याको कुरा गर्छन् । उनी कहिले बाल्मिकी त कहिले अरु ऋषिमुनीको चर्चा गर्छन् । यसपटक उनले ज्ञानेन्द्र शाह र रुद्राक्षको रुखको कुरा झिकेका छन् ।

ओलीले ११ वैशाख २०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको देशवासीका नाममा सम्बोधनको ड्राफ्ट आफूले तयार पारेको दाबी गरे ।

सर्वदलीय सहमतिमा ज्ञानेन्द्रले ड्राफ्ट पढेको र त्यो एमालेको बल्खुस्थित चौरमा रुद्राक्षको बोटमुनि बसेर ड्राफ्ट गरेको खुलाए । उनले भने,‘२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले तयार पारेको ड्राफ्ट पढेका थिए । त्यो एमालेको पार्टी कार्यालय बल्खुको चौरमा रुद्राक्षको बोटमुनि बसेर मैंले ड्राफ्ट गरेको थिएँ । ज्ञानेन्द्रले त्यही पढेका थिए ।’

ड्राफ्टमा संसद् पुनःस्थापना र बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको विषय बोलेको समेत खुलाए ।