सुरक्षा चुनौतीको घेराभित्र वित्तीय संस्थाका ६८ हजार कर्मचारीहरु

पोसकान्त पोखरेल,बुटवल, चैत ९,विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम अन्र्तगत बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु पनि पर्दछन् । फरक/फरक व्यक्तिहरु सँग बढी सम्पर्कमा रहने कर्मचारीहरु बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको फितलो सुरक्षा व्यावस्थाले उच्च जोखिममा परेका हुन । सधैभरी उच्च नाफाको होडबाजीमा लगानी कर्ताको प्रिय बन्ने दौडमा रहने प्रमुख कार्यकारी अधिकृतहरुले कर्मचारीको स्वास्थ्य भन्दा नाफामै मरिहत्ते गर्ने प्रवृतीमा कोरोना भाईरसले केहीहद सम्म लचकता अपनाउने अवस्था देखिएतापनि शुक्रबार सम्म अधिकांस बैंक तथा वित्तीय संस्थाका शाखाहरु अवलोकन गर्दा कर्मचारीहरुले नत माक्स, गलप्स लगाएका थिए, नत अन्य कुनै सुरक्षा नीति र सर्तकता नै अवलम्वन गरेको देखिन्थ्यो ।

बुटवल स्थित एक वाणिज्य बैंकका शाखा प्रवन्धकले भने– केन्द्रिय कार्यालयले जस्तो निर्देशन दिन्छ हामी त्यसै गर्ने हो । सिईओहरुलाई कसरी नाफा कमाउने भन्ने मात्र उद्देश्य हुने हुँदा कर्मचारीलाई सुरक्षा सामाग्री किनेर दिने सवाल त कम नै हुन्छ । पैसामा बढी खतरा हुन्छ भन्दछन् हामी त पैसाको मात्र कारोवार गर्ने ठाउँमा छौं । सेनेटाईजर सम्म आफैआफै किनेर लगाउने गरेका छौं । संस्थाले भनेर भन्दा पनि व्यक्तिगत हिसाबले सक्दो सर्तकता अपनाएका छौं । अहिले त बजारमा सुरक्षा सामाग्री किन्न पनि पाईन्न । सुरुमै हामीलाई अर्लटमा राख्नु पर्ने थियो, राखिएन । सधै विजनेश बढाउन दबाव दिने व्यावस्थापन पक्षले कर्मचारीलाई सावधानी अपनाउन समयमै निर्देशन नदिनु ठुलो त्रुटी हो । विजनेश नबढे जागिर खान मन छैन भन्न मात्र जानेका छन् ।

कुनै एक जना सेवाग्राहीमा संक्रमण भएर कर्मचारीमा सरे उक्त कर्मचारीबाट अन्य सेवाग्राहीमा सर्ने खतरा उच्च हुने हुँदा महामारीको रुप लिन बेर लाग्दैन । त्यसैले पनि सुरक्षा सर्तकतामा वित्तीय संस्थाहरु चुक्नु हुँदैन । सिईओहरुलाई त के भो र एउटा कोठामा बसेर निर्देशन जारी गरे पुग्छ, समस्या मैदानमा खट्नेलाई पर्छ ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसनका सचिव तथा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी गरी तिनवटै वर्गका वित्तीय संस्थाका छाता संगठनहरुले सम्युक्त रुपमा विज्ञप्ती निकालेर सावधानी अपनाउन र कुनै पनि बैंकको एटिएमबाट कारोवार गर्दा शुल्क नलिने निर्णय गरेको बताए । उनले अति आवश्यक अवस्थामा बाहेक बैंकमा नजान सेवाग्रहीलाई एशोसिएसनले आग्रह गरेको बताए । उनले तिनाउ मिसन डेभलपमेण्ट बैंकका सबै कर्मचारीहरुलाई सेनेटाईजर उपलब्ध गराएको पनि जानकारी गराए । श्रेष्ठले बैकमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित राख्नु बैंकको जिम्मेवारी हो ।

माक्स लगाउन, क्यासमा बस्नेले नियमित रुपमा सेनेटाईजर प्रयोग गर्न, गार्डहरुले बैंकमा आउने सबै सेवाग्राहीलाई उच्च निगरानी गरी संकास्पदलाई अस्पताल पठाउन, कुनै कर्मचारीहरुलाई आकस्मिक रुपमा रुघा–खोकी, ज्वरो आए बिदा लिएर घरमै बस्न बैंकले सबै शाखा कार्यालयहरुमा सर्कुलर गरेको जानकारी गराए । बैंकमा आउने सबै सेवाग्राहीलाई कोरोना भाईरस सम्बन्धी विश्व स्वास्थ्य संगठनले जारी गरेका निर्देशनहरुको पालना गर्न शाखा कार्यालयहरुलाई सर्कुलर पठाएको जानकारी गराए ।

त्यस्तै, उन्नती लघुवित्त वित्तीय संस्था लि. भैरहवाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले संस्थाका सबै शाखा कार्यालयहरुलाई सावधानी अपनाउन शुक्रबार नै निर्देशन दिएको बताए । उनले अनिवार्य रुपमा माक्स र गलप्स प्रयोग गर्न, सम्भव हुने ठाउँमा सेनेटाईजरको प्रयोग गर्न र सम्भव नहुने ठाउँमा नियमित रुपमा सावुन पानीले हात धुन, तातो पानीको प्रयोग गर्न, २०/२५ जनाको समुहमा हुने नियमित बैठकहरुलाई दुरी कायम गरी तीन/चार समुहमा विभाजन गरी गर्न, प्रत्येक बैठकमा सेवाग्राहीलाई कोरोना भाईरस लाग्दा देखिने लक्षण, अपनाउनु पर्ने सावधानी लगायतका कुराहरुमा विश्व स्वास्थ्य संगठनले दिएका निर्देशनहरुको बारेमा जानकारी गराई सचेत गराउन शाखा कार्यालयहरुलाई निर्देशन दिएको बताए ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डाक्टर गुणाखर भट्टका अनुसार नेपाल राष्ट्र बैंकको पुष मसान्त सम्म २७ वटा “क” वर्गका वाणिज्य बैंकहरुमा ३६ हजार तीन सय ९१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । त्यसैगरी “ख” वर्गका २४ वटा विकास बैंकहरुमा दश हजार पाँच सय २२ जना, “ग” वर्गका २२ वटा फाईनान्स कम्पनीहरुमा दुई हजार एक सय ९५ र “घ” वर्गका ९० वटा लघुवित्त वित्तीय संस्थाहरुमा १९ हजार दुई सय ९७ जना गरी ६८ हजार चार सय पाँच जना कर्मचारीहरु रहेका छन् । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट