भारतमा भएका नेपालीलाई यथास्थानमा सुरक्षित बस्न दूतावासको अपील

काठमाडौं : भारतमा रहेका नेपालीलाई आफू बसेकै ठाउँमा सुरक्षित भएर बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ्य महामारीबाट सुरक्षित हुन दूतावासले विज्ञप्तीमर्फत आग्रह गरेको हो ।

‘नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँ दिल्ली र भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारले जारी गरेका निर्देशनको सम्मान तथा पूर्णरुपमा पालना गर्दै आफु तथा आफ्नो परिवार सुरक्षित रहन भारतमा रहनु भएका नेपालीलाई यस राजदूतावास हार्दिक अपिल गर्दछ’, विज्ञप्तीमा उल्लेख छ ।

संक्रमण फैलन नदिन भारतले रेल, बस लगायतका लामो दुरीका यातायातका साधनमा बन्देज लगाएको छ। नेपाल सरकारले पनि सोमबारबाट लागू हुने गरी नेपाल-भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञप्तीमा आग्रह गरिएको छ ।