कोरोना सङ्क्रमित युवतीको घरमा स्वास्थ्य मन्त्रालयको टोली

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएकी युवतीको घरमा स्वास्थ्य मन्त्रालयको टोली खटिएको छ । फ्रान्सबाट गएको ४ गते नेपाल आएकी उनको घरमा र परिवार पनि जोखिममा हुने भएकाले स्वास्थ्य मन्त्रालयले उनको घरमा टोलीले खटाएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयबाट खटिएका टोली उनको घरमा पुगिसकेको उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमित युवतीको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना भएको पुुष्टि गरेको हो ।

कोरोनाको सङ्क्रमण भएकी ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनको आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै डाक्टरको सल्लाह र सुझाव अनुसार उनको दोस्रो पटक पनि स्वास्थ्य परीक्षण गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना सङ्क्रमित ती युवतीको आसपासमा वा सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको पनि जनाएको छ ।