बन्द क्लिनिक खोल्न दिएको निर्देशन अवज्ञा गर्नेलाई कारबाही हुने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन उचित सल्लाह, परामर्श तथा जानकारी दिई आमनागरिकलाई मद्दत गर्नु पर्ने दायित्वलाई बिर्सेर बन्द गरिएका पाल्पाका क्लिनिकहरु अझै खोलिएका छैनन् ।

सोमबारदेखि बन्द गर्ने निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारीले क्लिनिक खोल्न निर्देशन दिए पनि संचालकहरुले उक्त निर्देशनकाे अवज्ञा गर्दै साेमबार पनि अधिकांश क्लिनिक बन्द नै रहे । खोलिएका केही क्लिनिक पनि पुरै नखोलि एउटा मात्रै सटर खोलिएको थियो ।

आइतबार बसेको नेपाल औषधी ब्याबसायी संघ पाल्पाको बैठकले संक्रमित व्यक्ति आएर कोरोना सर्ने भन्दै क्लिनिकहरु बन्द गर्ने निर्णय गरिएको थियो ।
बन्द गर्न भनेको सुचना लिएर संघका प्रतिनिधी मेडिकलमा आएपछि बन्द गरेको भट्टराई मेडिकलकी सञ्चालक शारदा भट्टराईले बताइन ।

जिल्लामा दर्ता भएर सञ्चालनमा रहेका ५० वटा क्लिनिक छन । अधिकांश क्लिनिकमा संघले निकालेको सूचना टाँसेर बन्द गरिएको छ । तर सूचनामा कुनै आधिकारीक ब्याक्तिको हस्ताक्षर भने छैन ।

सञ्चालनका लागि जिल्ला प्रशासनले दिएको निर्देशन पालना नभएको बारे जिज्ञाशा राख्दा प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले अनुगमन गरेर कारवाही गर्ने बताए । ब्यावसायी संघले जिल्ला प्रशाासन कार्यालयलाई कुनै पनि जानकारी नदिई यस्तो निर्णय लिएकाे थियाे ।

‘अत्यावस्यक सेवाअन्तर्गत पर्ने औषधि पसल बन्द गर्न पाइदैन, समस्या केही छ भने भन्नु पर्छ’ सुबेदीले भने ‘आबश्यक कुरामा हामी सघाउन तयार छौँ ।’ नेपाल औषधी ब्याबसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठले बन्द गर्ने निर्णय भएपछि संचालकहरु घरघर गएकाले सबै मेडिकल नखोलेको गैरजिम्मेबार जवाफ दिए । ‘कसैको बिहे बर्तन परे होला अनि बन्द भए होलान’ श्रेष्ठले भने ‘बिस्तारै विस्तारै खुल्लान नि ।’