कोरोना प्रभाव : इनरुवा बजार भोलिदेखि दुई साताका लागि बन्द हुने

इनरुवा, १० चैत । नोवेल कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै उद्योग वाणिञ्य संघ इनरुवाले नगर भित्रका सबै बजार दुई साताका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले सावधानी अपनाउन नगर भित्र कडाई थालेको भोलिपल्ट उद्योग वाणिज्य संघ इनरुवाले समेत बजार पसल बन्द गर्ने निर्णय लिएको हो ।

उवासंघको आपतकालीन बैठकले महामारीको सम्भावनालाई मध्यनजर गर्दै दुई साताका लागि इनरुवा बजार बन्द गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहका अनुसार भोलि अर्थात चैत ११ गतेबाट २१ गते सम्म नगर क्षेत्र भित्रका अति आवश्यक सेवा वाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्न लागिएको हो । साहले संघको निर्णय नगरभित्र रहेका सबै व्यापारी र व्यवसायीहरुकालागि बाध्यकारी हुने बताउनुभयो ।

उवासंघ इनरुवाले बन्दमा अत्यावश्यकीय सेवा र वस्तुको विक्रि तथा कारोवार भने खुला रहने जनाएको छ । उवासंघको पछिल्लो निर्णय पछि अब इनरुवामा खाद्यान्न पसल, इन्धन, औषधि र स्वास्थ्य संस्थाहरु मात्र खुल्ने छन् ।

अत्यावश्यकीय सेवा प्रदान गर्दा प्राथमिकताका आधारमा सावधानी र सचेतना अपनाई नगरपालिकाको निर्णय पालना गर्ने गरी सञ्चालनमा ल्याउन उवासंघ इनरुवाले आग्रह गरेको छ । संघका सचिव रोशन खड्काका अनुसार अवस्था हेरी अत्यावश्यकीय सेवामा समेत समय निर्धारण गर्न सकिने छ ।

यसैबीच इनरुवामा रहेका सुनचाँदी व्यवसायी संघले समेत आज बिहानैबाट सम्पूर्ण सेवा रोकेको छ । अध्यक्ष रमेश श्रेष्ठका अनुसार कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै चैत २१ गते सम्मका लागि सम्पूर्ण सेवा सहित कारोबार बन्द गरिएको हो ।

इनरुवा नगरपालिकाले यस अघिनै साप्ताहिक हटिया, मदिरा सहित माछामाछाको विक्रि वितरणमा रोक लगाउनुका साथै क्वारेन्टाइन चेकजाँच बेगरका तरकारीको आयातमा रोक लगाई सकेको छ ।