वृद्धवृद्धालाई घरभित्रै सुरक्षित राख्न विज्ञको सुझाव

काठमाडौँ, ११ चैत । ७० वर्ष कटेका वृद्धवृद्धामा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भनिए पनि विशेष सावधानी अपनाए सुरक्षित हुन सकिने चिकित्सकले बताएका छन् । कडा रोग र दीर्घरोगीबाहेक अन्यलाई संक्रमण भइहाले पनि मृत्युको जोखिम न्यून हुने उनीहरूको भनाइ छ ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलका अनुसार बढ्दो उमेरसँगै रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले वृद्धवृद्धामा सबै रोगको जोखिम हुन्छ, कोरोनाको हकमा पनि यो लागू भएको मात्रै हो। कोरोनाले उनीहरूलाई मात्रै आक्रमण गर्ने भन्ने होइन।

अंग प्रत्यारोपण गरेका, मुटु, कलेजो र श्वासप्रश्वासका बिरामीलाई कुनै पनि संक्रमणले छिट्टै समात्ने हुनाले यो समयमा विशेष सतर्कता अपनाउन विज्ञले सुझाएका छन्। ‘जोखिमको सम्भावना भए पनि कोरोना फैलिएका मुलुकको तथ्यांक हेर्दा १५ प्रतिशत वृद्धवृद्धाको मृत्युदर देखिएको छ भने ८५ प्रतिशत संक्रमणमुक्त भएका छन्,’ डा. कँडेलले भने, ‘अहिलेको अवस्थामा वृद्धवृद्धाले सेल्फ क्वारेन्टाइनमा बसेर आफूलाई सुरक्षित राख्न सक्छन्।’ सकेसम्म पूजा, भजन या कुनै पनि सार्वजनिक समारोहमा नजान उनको सुझाव छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।