कोरोना भाइरसको त्रासका बीच पशुपतिनाथमा नित्य पूजा यथावत

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनमा पशुपतिनाथ मन्दिरको नित्य पूजा भने यथावत रहने भएको छ । मन्दिरका मुल भट्ट तथा पुजारी मन्दिर परिषरभित्रै बस्ने भएकाले लक डाउनले कुनै असर नगर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । “लक डाउनमा पनि नित्य पूजा रोकिँदैन । मुल भट्ट तथा पुजारी मन्दिर परिषर भित्रै बस्ने भएकाले लक डाउन उल्लंघन हुँदैन,” कोषका सदस्य सचिव ढकाल बाह्रखरीसँग भन्छन्, “सनत्य पूजा सधैँ चलिरहने छ ।”

आज विहान ६ बजेभन्दा अगाडि नै पशुपति क्षेत्र नजिकैका केही नियमित दर्शनार्थीले आएर पूजा गरेका थिए । पशुपतिनाथ मन्दिर परिषरमै रहेको आर्यघाटमा शव दाहका लागि लक डाउनमा कस्तो व्यवस्था गर्ने भन्नेबारे आज निर्णय गरिने ढकालले जानकारी दिए ।

“शव दाहका लागि आउने मलामीका विषयमा लक डाउनको अवधीमा केकस्तो वयस्वस्था गर्ने अब केही बेरमा बसेर हामी निर्णय गर्दैछौं,” ढकालले भने । पशुपति आर्यघाटमा दैनिक ठूलो संख्यामा अन्तिम संस्कारका लागि शव ल्याउने गरिएको छ । कोषले हरेक दिन हुँदै आएको आरती पूजा भने यस अघि नै बन्द गरिसकेको छ ।