७७ वर्षीया महिला कोरोनाभाइरसबाट निको भइन्, चिकित्सकले बजाए ताली

स्पेनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि पहिलोपटक सघन उपचार कक्षबाट जिउँदै निस्कने एक महिलालाई चिकित्सक र नर्सहरूले पंक्तिबद्ध भएर ताली बजाएका छन् । ती ७७ वर्षीया रोगीको नाम इसाबेल हो र उनलाई भेन्टिलेटरबाट निकालेर जनरल वार्डमा सार्दा चिकित्सकहरू खुशी भएर ताली बजाएका थिए । स्पेनको पूर्वी तटमा रहेको कास्टेलोन जनरल हस्पिटलमा यो घटना भएको हो ।

सघन उपचार कक्षमा कार्यरत कर्मचारीहरू फेस मास्क लगाएर भेला भएका थिए अनि रोगीलाई ह्वीलचेयरमा राखेर वार्डमा ल्याइँदा ताली बजाएका थिए । यो भावुक दृश्य अन्लाइनमा शेयर गरिएपछि स्पेनमा कोरोनाविरुद्धको लडाइँमा आशाको किरण छरिएको छ । इसाबेलले दाहिने हात हल्लाउँदै अस्पतालका कर्मचारीको अथक परिश्रमलाई धन्यवाद दिएकी थिइन् ।

एकजना स्वास्थ्यकर्मीले उनको कानमा साउती मार्दै ‘अझै ठीक होऊ इसाबेल’ भनेका थिए अनि दुई सहयोगीले उनी सुतेको खाटमा सुरक्षा कपडाले पुछेका थिए । निमोनिया लागेर अस्पतालमा भर्ना भएको चार दिनपछि इसाबेललाई जनरल वार्डमा सारिएको हो । अस्पताल भर्ना भएको दुई दिनपछि उनलाई कोरोना लागेको पुष्टि भएको थियो ।