सरकारको लकडाउन जनताले टेरेनन्, कार्यान्वयन गराउन प्रशासन कमजोर

मकवानपुर, ११ चैत । पछिल्ला दिनमा विश्वलाई नै चुनौति र आतंकित पारिरहेको (कोभिड-१९) कोरोना संक्रमण नफैलियोस् भन्दै नेपालले पनि सजगता अपनाइरहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सरकारले आज बिहान ६ बजेबाट लागूहुने गरी देशैभर लकडाउन गर्ने निर्णय गरेको थियो ।अत्यावश्यक अवस्था बाहेक सडकमा निस्किन निषेध गरिएको छ । निर्णयानुसार राजपत्रमा उल्लेख भए अनुसार अत्यावश्यक क्षेत्र बाहेक सबै बन्द गर्न निर्देशन पनि दिइएकाे छ ।

सामान्यतया लकडाउनको अर्थ सबै नागरिक सुरक्षित रुपमा घरमै बस्ने हो । तर बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा भने सरकारको यस निर्णयलाई पूर्ण रुपमा पालना गरिएको छैन ।

सडकमा मोटरसाईकल, अटो, जीप, कार भ्यान, ट्रक, टिपरहरु समेत सरकारको निर्णयलाई बेवास्ता गर्दै गुडिरहेका छन् । न्युज २४ टेलिभिजनले आज विहानैबाट गरेको बजार अवलाेकन गर्दा बजारमा अत्यावश्यक पसलहरुको साथै लुकिछिपी अन्य पसलहरु पनि खुलेकाे पाइयाे ।

दुईपांग्रे मोटरसाईकललाई केहि सोधपुछ गरेपनि प्रहरीले निजी कार, जीपहरु प्रहरीले रोक्ने गरेका छैनन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मकवानपुर प्रशासन सरकारको लकडाउनको निर्णयलाई कार्यान्वयन गराउने क्रममा रहेको दाबी गर्नुभयाे ।

यसरी आम नागरिकले पनि आफ्नो कर्तव्य नबुझ्ने र प्रशासनले पनि सरकारको लकडाउनलाई गम्भीरतापूर्वक कार्यान्वयन नगराउने हो भने संक्रमणको जोखिम बढ्ने प्राय निश्चित छ ।