फ्रान्सबाट आएकहरूको पनि पहिचान भइसक्यो : सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरूको पहिचान भइसकेको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताए । संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए ।

जहाजमा सँगै आउने व्यक्तिहरूलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले बताए । त्यस्तै अहिलेसम्म ६ सय १० वटा नमुना परीक्षण भएकामा २ वटाबाहेक नयाँमा संक्रमण नपाइएको उनले बताए । कोरोना संक्रमण भएको एकजना र आशंका गरिएका अन्य १५ जनासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १६ बिरामी रहेको उनले बताए ।

त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा छन् । त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरूको मात्र परीक्षण हुने गरेकामा त्यसको दायरा बढाएर संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मीहरू, दीर्घरोगीहरू र सघन उपचार कक्षमा रहेकामा फ्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परीक्षण सुरु गरेको छ ।

त्यस्तै अन्य अस्पतालहरूमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आए फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नुपर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए । उनले बिरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए । उनले विदेशबाट आएकाहरू सेल्फ क्वारेन्टाइनमा नबसी आफूखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको बताए ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीमा पीपीई सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पञ्जा, १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सु–कभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रमा वितरण गर्न राखिएका फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा छन् ।